Thursday, May 2
Shadow

किष्ट अस्पतालमा डेढ वर्षमा ५१ जनाको मृगौलाको सफल प्रत्यारोण


  • -इ
  • इ+

काठमाडौं । नेपालमा बर्षेनी ३ देखि ४ सय जना मृगौलाका नयाँ बिरामी थपिन्छन् र उपचारका लागि भौतारिँदा भौतारिदै कतिको मृत्यु हुन्छ भने कति विदेशिन बाध्य छन् । यस्ता पिडादायि क्षण विशेष गरि बैदेशिक रोजगारिमा गएर फर्किएका अर्थात खानपानमा ध्यान नदिने र बंशाणुगत रुपमै समस्या भएका परिवारका ३० देखि ४० बर्षका युवा जनशक्तिमा बढी रहेकोछ ।

नेपालकै जेठो वीर अस्पताल, त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल, महाराजगंज र मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरमा सरकारले आर्थिक रुपमै सहयोग गरि मृगौला प्रत्यारोपण हुन्छ । तर यतिले मात्र बिरामीको चाप धान्न नसकेको अवस्थामा १ बर्ष ७ महिना अघि किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले नीजी क्षेत्रको अस्पतालमा मृगौला प्रत्यारोपणको थालनी गरेकोमा ५१ जनाको मृगौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ ।

किष्ट अस्पतालले मृगौला प्रत्यारोपणका लागि अस्पतालमा दक्ष जनशक्ति र उपकरण तयार गरि प्रत्यारोपणको स्वीकृतिका लागि नेपाल सरकार समक्ष पेश गरेको परियोजना २०७७ साल फागुन १८ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको अंग प्रत्यारोपण समन्वय समितिको सचिवलयले स्वीकृति प्रदान गरेको र २०७८ बैशाख ८ गते डा. नारायण प्रसाद भुषालको नेतृत्वमा पहिलो मृगौला प्रत्यारोपणमा सफलता हासिल गरेको थियो ।

१ बर्ष ७ महिनामा ५१ जनाको मृगौला प्रत्यारोपणमा सफलता मिलेको सन्देश दिन आयोजित एक कार्यक्रममा डा.भुषाल भन्नुहुन्छ—मृगौला प्रत्यारोपण कार्य गम्भिर र कानूनी प्रावधान पुरा गरेर मात्र गर्न मिल्ने सम्बेदनशील स्वास्थ्य सेवा हो । विदेशमा ६० बर्ष पछि मृगौलाको समस्या हुन्छ भने नेपालमा ३० देखि ४० बर्षका युवामा बढी समस्या हुन्छ । विदेशमा युवा डोनर हुन्छन् भने नेपालमा ५० देखि ६० बर्षका बृद्ध बाबु, आमा, काका, काकी, आफन्त डोनर हुन्छन् । विशेष गरि नेपालको युवा शक्ति बैदेशिक रोजगारिमा जानेहरुमा उच्च रक्तचाप, मधुमेह र मृगौला फेलरको समस्या बढ्दोछ ।

मृगौला दाता हेर्ने हो भने ७५ प्रतिशत महिला, आमा, दिदीबैनी, भाउजु, साली छन् भने २५ प्रतिशत मात्र पुरुष छन् । २५ प्रतिशत पुरुषमा छोराले आमालाई,दाजुले भाईलाई, श्रीमानले श्रीमतीलाई दिएको अवस्था छ । विशेष गरि महिलाले श्रीमान, छोरा,छोरी र बुहारीलाई दिएको अवस्था रहेको भुषाल बताउँनुहुन्छ । डा.भुषाल मानव अंग प्रत्यारोपण केन्द्रमा पनि लामो समय मृगौला प्रत्यारोपण टीममा रहेर मृगौला तथा लिभर प्रत्यारोपणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउँनुभएको चिकित्सक हुनुहुन्छ ।

उहाँ पछिल्लो समय किष्ट अस्पतालमा मृगौला प्रत्यारोपण युनिटको नेतृत्व आफैले गर्दै आउँनुभएको छ । जुनबेला कोभिड १९ को महामारी विश्वमानै उच्च गतिमा फैलिएको थियो । किष्टमा पनि कोभिडका कारण ३ पटक मृगौला प्रत्यारोपण स्थगित गर्दै वातावरण अनुकुल प्रत्यारोपण गर्दा पहिलो बर्ष १९ जना र दोस्रो ७ महिनामा ३२ जनाको मृगौला प्रत्यारोपण सफलतापूर्वक गरिएको जानकारी गराउँनुभयो ।

पहिलाको दाजोमा मृगौला दातालाई अहिले ल्याप्रास्कोपिक विधिबाट मृगौला निकाल्ने हुँदा सानो प्वाल पारि मृगौला निकालिने हुँदा पहिला जस्तो निको हुन लामो समय नलाग्ने र मृगौला दान दिएकै कारण जीवन भरि मृगौलाको समस्या नआउँने पनि डा.नारायण बताउँनहुन्छ । पहिला मृगौला प्रत्यारोपण गर्दा दिने र लिने दुबैलाई ढाड चिरेर ठूलो शल्यक्रिया गर्नुपथ्र्यो र दाता डराउँथे अहिले मृगौला दाताको घाउ ३ दिनमै निको हुन्छ र पछि दाग पनि देखिँदैन ।

विशेष गरि विदेशमा बे्रन डेथ भएका व्यक्तिबाट मात्र ९० प्रतिशत मृगौला प्रत्यारोपण हुन्छ । नेपालमा बे्रन डेथको कानून बनेपनि जनचेतना जगाउन नसकिएका कारण हाल सम्म चार पाँच जनामा मात्र बे्रन डेथको मृगौला प्रत्यारोपण गरिएकोछ । अन्यको हकमा जिवित आफनतबाटै लिने र प्रत्यारोपण गर्ने गरिन्छ । मृगौला प्रत्यारोपण गर्दा प्रायमा अन्यखालको समस्या छैन भने पुरोनो मृगौला निकालिन्न । रक्त समूह फरक परेको अवस्थामा मृगौला साटासाट गरेर पनि प्रत्यारोपण गर्न सकिने कानूनी मान्या भएकाले मृगौलाका बिरामीलाई थप राहत मिलेको छ ।

किष्टमा मृगौला प्रत्यारोपणका लागि राज्यका साथै सताप्दी पुरुष सत्यमोहन जोशीको समेत महत्वपूर्ण भुमिका रहेको छ । उहाँले अंगदानको महत्वका साथै मेडिकल शिक्षाका लागि प्रयोगात्मक अभ्यासका लागि आवश्यक पर्ने शरिर मृत्यु पर्यन्त किष्ट अस्पताललाई नै दान गर्नुभै सदा जीवीत किताबका रुपमा आफुलाई समपर्ण गर्नुभयो ।

किष्ट अस्पतालमा सरकारले मृगौला प्रत्यारोपण आर्थिक सहयोग नगरेपनि अस्पतालले ४ लाख ५० हजारमा मृगौला प्रत्यारोपण गर्दै आएको छ । यसरी प्रत्यारोपण गर्दा केन्द्र सरकार र स्थानिय सरकारले समेत बिरामीलाई आर्थिक सहयोग गर्ने हुँदा बिरामीले अस्पताललाई धेरै पैसा तिर्नुपर्दैन र सबै तालमेल मिलेको अवस्थामा अस्पताल आएको १५ दिन भित्र मृगौला प्रत्यारोपण पनि गरिसकिन्छ ।

मृगौलाका बिरामीलाई डायलासिस गरेर ४ देखि ५ बर्ष मृगौला बचाउनु भन्दा एकैपटक मृगौला प्रत्यारोपण गर्न सके बिरामीको आयु पनि २० देखि २२ बर्ष लम्बिने र राज्यको खर्च पनि कम हुने बिषयमा जनचेतना र मृगौला प्रत्यारोपण केन्द्रहरु विस्तार हुनुपर्ने अहिलेको अवस्था रहेको डा.नारायणले बताउँनुभयो ।

हाल सम्म मृगौला प्रत्यारोपण गरेका बिरामीमा निकै जटिल अवस्थाका अन्यत्र गर्न मिल्दैन भनेका ६७ बर्षका पेसमेकर राखेका जेष्ठ बिरामी छन् भने १७ बर्षका भर्खर ११ कक्षा पढ्दै गरेका युवा पनि छन् । मृगौला प्रत्यारोपण सेवा लिन देशभित्रबाट मात्र नभै विदेशमा रहेका नेपाली नागरिकहरु अमेरिका, जापान, डेनमार्क, तथा मध्ये पूर्वका देशहरुबाट समेत अस्पतालमा आई मृगौला प्रत्यारोपण गरि नियमित आफ्नो काममा फर्किसकेका छन् । यसले नेपालीको विदेश जानुपर्ने बाध्यतालाई केही हदसम्म रोकेर गुणस्तरिय स्वास्थ्य सेवा दिन सफल भएको डा.नारायण बताउँनुहुन्छ ।

किष्ट अस्पतालको मृगौला प्रत्यारोपण टोलीमा पूर्णकालिन रुपमा फिजिसियन, सर्जन, एनेस्थेसिया, डेन्टल, कार्डियोलोजिष्, प्याथोलोजिष्ट, साईकियाट्रिक, चिकित्सक तथा तालिम प्राप्त नर्सिङ सहितको मल्टीडिस्पिईनरी टीम संलग्न रहेको छ । नेपालमा नीजी क्षेत्रबाट मृगौला प्रत्यारोण गर्ने पहिलो अस्पताल किष्ट भएको पनि डा.भुषालले दाबी गर्नुभयो ।

मृगौला प्रत्यारापण जटिल हुनुका साथै खर्चिलो भएका कारण बिरामीलाई आर्थिक कारणले उपचारबाट बन्चित हुनुनपरोस भन्ने उदेश्यले हदै सम्मको न्यूनतम शुल्क राखी प्याकेजमै सेवा दिँदै आएको अस्पतालका प्रिन्सिपल प्रा.डा.बलमान सिंह कार्कीले जानकारी गराउँनुभयो । उहाँले हरेक नागरिकले आफ्नो मृगौला स्वस्थ राख्न खानपान, आहार व्यवहार तथा शारिरीक तन्दुरुस्तीमा ध्यान दिने र समय समयमा परिक्षण गर्नु अनिवार्य भएको बताउँनुभयो ।

नेपालमा मृगौलाका बिरामीलाई उपचार गर्ने देखि उपचार पछि दिर्घकाल सम्म औषधि खानका लागि सरकारले पनि सक्दो सहयोग गरेको छ भने अस्पतालले पनि विभिन्न संघसंस्थाहरु मार्फत सहयोग लिएर पनि औषधि उपचारमा सघाउ पुर्याउँदै आएको नेपाल सरकारबाट अनुमती प्राप्त प्रत्यारोपण चिकित्सक डा. सन्तोष क्षेत्रीले जानकारी गराउनुभयो ।

सोही अवसरमा अस्पताल निर्देशक प्रा.डा सुरज बज्राचार्यले मृगौला प्रत्यारोपण कार्यलाई सफल बनाउँने नेपाल सरकार, राजनीतिक दल, संचार माध्यम र विशेष गरि उपचारमा संलग्न चिकित्सक तथा मृगौला दाताहरु प्रमुख धन्यवादका पात्र हुन भन्दै धन्यवाद ज्ञापन गर्नुभयो ।

सोही अवसरमा अस्पताल चिफ अमिस पाठकले मृगौला प्रत्यारोपणमा ५१ जनामा सफलता मिलेको अवसरमा सबै टीमलाई धन्यवाद दिँदै सूचनाका माध्यमबाट आम नागरिकलाई सुसुचित गर्ने संचार माध्यमहरुप्रति आभार प्रकट गर्नुभयो ।

भगवती तिमल्सिना
"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्