Thursday, April 25
Shadow

कार्यतालिका छोट्याएर मंसिर ४ मा निर्वाचन गर्न सकिन्छ: प्रमुख आयुक्त थपलिया (अन्तवार्ता)


  • -इ
  • इ+

काठमाडौं- सरकारले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन घोषणाको अन्तिम तयारी गरेको छ । सत्तागठबन्धनका शीर्ष नेताहरूले ४ मंसिरमा एकै चरणमा निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाएका छन् । कुनै नयाँ राजनीतिक घटनाक्रम नभए आज (विहीबार) बस्ने मन्त्रिपरिषद् बैठकबाट मिति घोषणा गर्ने तयारी छ ।

निर्वाचन आयोग ऐन, २०७३ दफा २ (झ) मा निर्वाचन हुने मितिभन्दा एक सय २० दिनअगाडिदेखि निर्वाचनको अन्तिम परिणाम सार्वजनिक नभएसम्मको अवधिलाई ‘निर्वाचन अवधि’ भनी परिभाषित गरेको छ । निर्वाचनको मिति तोक्दा सो व्यवस्थाबमोजिम निर्वाचन हुने दिनभन्दा कम्तीमा एक सय २० दिनअगाडि निर्वाचन अवधि हुने गरी तोक्नुपर्ने हुन्छ । आयोगको परामर्शमा सरकारले मिति तोक्ने व्यवस्था छ । सरकारले मिति घोषणामा केही दिन तलमाथि गर्न सक्छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पदावधि २०७९ मंसिर २२ गते पूरा हुने आयोगको निष्कर्ष छ। कार्यकाल सम्पन्न हुने मितिलाई आधार मान्दा २२ मंसिरभित्र निर्वाचन भइसक्नुपर्ने सूचना अधिकारीको भनाइ छ। २०७४ सालमा पहिलो चरणमा मंसिर १० गते ३२ जिल्ला र दोस्रो चरणमा मंसिर २१ गते ४५ जिल्लामा प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन भएको थियो।

त्यसो भए अब निर्वाचन आयोगको तयारी के छ ? भनेर निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियासँग गरेको कुराकानीको सम्पादित अंश :

आयोगले २ मंसिरमा निर्वाचन गर्ने गरी एक सय २० दिनअघि नै घोषणा गर्न आग्रह गरे पनि सरकार बल्ल तयारीमा छ, अब घोषणा हुँदा समय पुग्छ ?
आयोगले २ मंसिरमा निर्वाचनका लागि परामर्श गरेको थियो । प्रधानमन्त्रीले ४ मंसिर उपयुक्त हुन्छ भनेपछि तदनुसार हामीले आवश्यक प्रस्ताव पठाएका थियौँ । प्रधानमन्त्री र आयोगबीच पटकपटक अनौपचारिक परामर्श पनि भएको छ । उहाँहरूले ‘निर्वाचनको मिति घोषणापछि धेरै महत्वपूर्ण निर्णय गर्न नहुने भएकाले केही विधेयक पारित गर्न केही समय लाग्ने भएकाले ४ मंसिरकै लागि मिति तय हुन्छ, तपाईंहरूले आवश्यक तयारी गर्दै गर्दा हुन्छ’ भन्नुभएको छ । मिति नतोकिए पनि आयोगले मतदान केन्द्रको पुनरावलोकन गर्ने काम अगाडि बढाइसकेको छ, अन्तिम तयारीमा छ । अन्तिम मतदाता नामावली अद्यावधिक गर्ने कार्यविधिको पनि तयारी भइरहेको छ । दल दर्ताका लागि संघ र प्रदेशमा आवश्यक सूचनाको तयारी गरिरहेको छ । यही साता निर्वाचन घोषणा हुँदा ४ मंसिरमा निर्वाचन गर्न कुनै बाधा हुँदैन ।

तपाईंहरूले मागेको एक सय २० दिन त बाँकी रहेन नि ?
हामीलाई एक सय २० दिन आवश्यक पर्ने सम्बन्धमा पनि सोधिएको थियो । यस आधारमा १५ मंसिरपछि निर्वाचन गर्न सकिन्छ कि भन्ने प्रस्ताव पनि आएको थियो । तर, हिमाली क्षेत्रमा पर्न सक्ने समस्यालगायतलाई देखाएर ४ मंसिरभन्दा ढिला गर्नुहुँदैन भनेर आयोगको धारणा राखेका थियौँ । बरु समय घटाउँछौँ, ४ मंसिरभन्दा ढिला नहोस् भनेका छौँ । यही साता चुनाव मिति घोषणा भए समय अभाव भयो भनेर आयोगले गुनासो गर्दैन ।

आयोगलाई काम गर्न दबाब चाँही कति हुन्छ ?
एक सय २० दिन अवधि भएन भने आउने जटिलताबारे कार्ययोजनासहितको विवरण सरकारलाई पेस गरेका छौँ । पछिल्लोपटक प्रधानमन्त्रीसँग छलफल हुँदा आउँदो मन्त्रिपरिषद् बैठकबाट मिति तय हुन्छ भन्ने थियो । यसबारे गठबन्धन दलसँग परामर्श गर्न बाँकी रहेको भन्ने जानकारी प्राप्त भएको थियो । यसै साताभित्र निर्वाचन घोषणा भए पनि कार्यतालिकालाई छोट्याएर भए पनि निर्वाचन सम्पन्न गर्ने गरी तयारीमा छौँ ।

निर्वाचन घोषणालगत्तै आयोगले के–कसरी काम अगाडि बढाउँछ ?
मिति घोषणालगत्तै आयोगले अहिले भइरहेको मतदाता नामावली प्रक्रिया रोकेर सात दिनभित्र मतदाता नामावली संकलन गरी अद्यावधिक गर्नेछ । मतदाता नामावली दोहोरिएकाको हकमा विशेष निर्णय गरेर नदोहोरिने गरी व्यवस्थापन गर्नेछौँ । सँगसँगै जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका नयाँ नामावली सम्बन्धित पालिकामा पठाएर वडास्तरमा त्यसलाई प्रकाशन गरेर अद्यावधिक गर्नेछौँ । बिहीबार निर्वाचन घोषणा भए समय अभाव भएका कारण ढिलोमा ५ भदौभित्रमा दल दर्ताको काम सम्पन्न गरिसक्छौँ र लगत्तै मतपत्र डिजाइनको काम गर्नेछौँ । सुरुमा समानुपातिकतर्फको मतपत्रको डिजाइन हुनेछ । स्थानीय तह निर्वाचनमा देखिएको उम्मेदवार नभएकाको पनि मतपत्रमा चुनाव चिह्न राखिएको भन्ने गुनासोलाई पूर्ण रूपमा हटाउनेछौँ । उम्मेदवार भएकाको मात्रै मतपत्रमा नाम र चुनाव चिह्न समावेश गर्नेछौँ । समानुपातिकका लागि करिब चार करोड मतपत्र आवश्यक पर्छ ।

सरकारको मिति घोषणालाई नै कुर्नुपर्ने विषयचाहिँ के–के छन् ?
औपचारिक रूपमा गर्नुपर्ने सबै काम मिति घोषणापछि नै हुने हुन् । अन्तर्राष्ट्रिय पर्यवेक्षक बोलाउने, निर्वाचन खर्चका लागि अर्थ मन्त्रालयबाट कार्यविधि पारित गर्नुपर्नेलगायतका विषय बाँकी नै छन् । खाका तयार गर्ने काम भइरहेका छन् । विशेषगरी सामान खरिदका लागि समय अभाव हुने देखिन्छ । यसबीचमा दसैँ, तिहार र छठजस्ता चाडपर्व छन् । अहिले नै आत्तिनुपर्दैन । तर, जति ढिलो हुन्छ त्यति समय अभाव त हुन्छ ।

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्