Sunday, April 28
Shadow

काठमाडौँका सुकुम्वासी बस्ती हटाउने तयारी, ३ हजार ४९६ घरधुरी रहेको प्रारम्भिक तथ्याङ्क


  • -इ
  • इ+

काठमाडौँ- अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले काठमाडौँ महानगरपालिकासँगको समन्वयमा नदी तथा खोला किनारालगायत विभिन्न ठाउँका सुकुम्वासी बस्ती हटाउने तयारी थालेको छ ।

वास्तविक सुकुम्वासी पहिचान गरी हटाउने तयारी थालिएको हो । समितिका सूचना अधिकारी कमल अर्यालका अनुसार वास्तविक सुकुम्वासी पहिचान गर्न अध्ययन भइरहेको छ । समितिले सङ्कलन गरेको प्रारम्भिक तथ्याङ्कबाट काठमाडौँका २० वटा वडाका २७ स्थानमा सुकुम्वासी बस्ती रहेको खुलेको छ ।

समितिको तथ्याङ्क अनुसार तीन हजार ४९६ घरधुरी रहेको अर्यालले जानकारी दिए । समितिका अनुसार २० वटै वडाले समितिलाई विवरण पठाएपछि प्रक्रिया अघि बढ्नेछ ।

वास्तविक सुकुम्वासीहरूको व्यवस्थापन हुने पनि उनले बताए ।

यसअघि दुई स्थानका सुकुम्वासी बस्तीलाई पनि व्यवस्थापन गरिएको अर्यालले बताए । धोबीखोला, वाग्मती, विष्णुमती, बालाजु लगायत क्षेत्रमा सुकुम्वासी बस्ती बसेका छन् ।

गत शुक्रबार काठमाडौँ महानगरपालिकाले वाग्मती र धोबीखोला करिडोर क्षेत्रअन्तर्गत थापाथलीस्थित रुद्रेश्वर मन्दिर आसपासमा बनेका संरचनामा डोजर चलाएको थियो ।

सम्झौता विपरीत बनाइएका संरचनामा महानगरसँगको समन्वयमा डोजर चलाइएको थियो । सोही क्रममा आफूहरूलाई सुकुम्वासी भनी चिनाउनेहरूले नै मापदण्ड विपरीत घर टहरा बनाइ भाडामा लगाएको समेत खुलेको थियो ।

खोला करिडोर क्षेत्रमा कतिपय धार्मिक संस्थाले समितिसँग सम्झौता नै गरेर संरचना निर्माण समेत गरेका छन् । वाग्मती करिडोर क्षेत्रमा किरियापुत्री भवन, सालिक, मन्दिर, भजन मण्डली लगायतका संरचनाहरू निर्माण भएका छन् ।

समितिकै नेतृत्वमा सत्य साई बाबा ध्यान केन्द्र, ओम शान्तिको सभाहल, रुद्रेश्वर मन्दिर, ओम शान्तिको भवन हटाइसकेको छ ।

शुक्रबार हटाउनुअघि समितिले तीनदिने अल्टिमेटमसमेत जारी गरेको थियो । समितिले पटक-पटक हटाउन अल्टिमेटम दिँदै आएपनि एक्सनमा उत्रिन भने सकेको छैन । सुकुम्वासी बस्तीहरूबारे बहस पनि चलिरहेको अर्यालले बताए ।

काठमाडौँ महानगरपालिकाले वाग्मती, धोबीखोला, विष्णुमती, बालाजु लगायत क्षेत्रका कतिपय अवैध संरचनामा डोजर चलाइसकेको छ ।

महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार खोला नदी आसपास अतिक्रमण गरेर बनेका कतिपय संरचनाहरू भत्काइसकिएको छ । सुरुमा वास्तविक सुकुम्वासी छनोट गरिने उनले बताए ।

सरकारले सुकुम्वासी व्यवस्थापनको लागि सितापाइलामा ठाउँ छुट्याएर केही संरचना निर्माण गरेको प्रवक्ता मानन्धरले बताए ।

खोला र नदीका किनारा खाली गरी सौन्दर्य कायम राख्ने गरी गृहकार्य गरिरहेको समितिले जनाएको छ ।

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्