Wednesday, May 15
Shadow

विश्वकर्माले बनाए विद्युत्बाट चल्ने स्वचालित घन


  • -इ
  • इ+

तनहुँ  । तनहुँको आँबुखैरेनी गाउँपालिकामा आरन सञ्चालन गर्दै आएका ५१ वर्षीय रामलाल विश्वकर्माले फलामलाई मार हान्न विद्युत्बाट चल्ने स्वचालित घन बनाएका छन्।  फलामको हतियार गाल्न विश्वकर्माले दुई वर्षपहिले विद्युत्बाट चल्ने स्वचालित घन बनाएपछि उनको परिचय अहिले फेरिएको छ।   फलामलाई आकार दिन घन हान्न बलियो मानिस चाहिने भएकाले विकल्पका रूपमा स्वचालित घन बनाएको उनले बताए।  ‘फलाम गाल्न घन हान्नुपर्दा दुई जना चाहिने भयो,’ आरानमा घरेलु औजार बनाउँदै गरेका रामलालले भने, ‘दिन रात उपाय खोजेँ र यो मेसिन बनाएँ।’

मेसिन बनाउन रामलालले मोटर, नट बोल्ट, चेन, पुल्ली, घिर्नी, फलामका पाता र काठको प्रयोग गरेका छन्। मेसिन बनाउन ३० हजारको सामान खरिद गरेको उनले बताए।  युट्युब हेरेर बनाएको सो मेसिन तेस्रो पटकको प्रयासमा सफल भएको उनले जानकारी दिए। फलामलाई पातलो बनाउन दुई वर्षदेखि विश्वकर्माले सो मेसिन नै प्रयोग गर्दै आएका छन्। करिब ५० हजार रुपैयाँ खर्च गर्न सके अझ राम्रो र कम आवाज आउने स्वचालित घन बनाउन सक्ने क्षमता आफूसँग भएको उनले बताए।

कोइलामा तताएर रातो बनाइएको हतियारलाई पातलो र निश्चित आकार दिनुपर्दा विद्युत् अन गरी दुई वटा घनको बीचमा लैजानुपर्छ। खुट्टाले थिचेपछि स्वचालित घनले दबाब दिन्छ र घनको चाललाई नियन्त्रण र बन्द पनि खुट्टाबाटै गर्न सकिन्छ। स्वचालित घन प्रयोग गर्दा महिनामा करिब एक हजार रुपैयाँ विद्युत् महसुल उठ्ने गरेको उनको भनाइ छ।

चितवन पदमपुर घर भई घुमाउनेघाट बस्दै आएका विश्वकर्माले आरन दर्ता गरेका छैनन्। आरन दर्ता गर्ने प्रक्रियाबारे आफूलाई केही थाहा नभएको उनले बताए। निर्वाहका लागि मात्र आफूले आरन सञ्चालन गरेको उनी बताउँछन्।  करौती, हँसिया, बञ्चरो, खुर्पा र कोदालो बनाउने गर्दै आएका विश्वकर्माले घरायसी हतियार अरचापेको (धार लगाएको) ५० रुपैयाँदेखि दुई सय रुपैयाँसम्म लिने गर्छन्। नयाँ घरेलु हतियारको प्रकारअनुसार चार सय रुपैयाँदेखि माथि पर्ने विश्वकर्माले बताए।  आफूले घरेलु हतियारको अलावा ट्र्याक्टरको डिब्बालगायत लेथका कामसमेत गर्नसक्ने उनले जानकारी दिए। ठूलो ग्रिल कारखाना सञ्चालन गर्ने उद्देश्य भए पनि आर्थिक अभावमा त्यो पूरा गर्न नसकेको उनको भनाइ छ।  ‘ठूलो ग्रिल उद्योग सञ्चालन गर्न आर्थिक अवस्था कमजोर हुँदा सकिनँ,’ उनले भने।

सामान्य लेखपढ गरेका विश्वकर्मा राज्यले केही सहयोग गरे आफूले व्यवसायलाई थप विस्तार गर्न सक्ने बताउँछन्। आरनको कमाइबाट घरको दैनिक गर्जो टार्दै आएका छन्।  विश्वकर्माको क्षमता, खुबी र लगनशीलता देखेर आफूहरूले घुमाउने घाटमा आरन राख्न करिब एक आना जग्गा निःशुल्क प्रदान गरिएको छ। आफूहरूले हँसियादेखि कुटो कोदालोसम्म बनाउन र अरचाप्नुपरे विश्वकर्मालाई नै लगाउने गरेको घुमाउने घाटकी ५६ वर्षीया सन्सरी गुरुङले बताइन्। घुमाउने, साराङघाट, मास्दीघाटलगायत ६–७ वटा गाउँका बासिन्दाले उनको आरनबाट सेवा लिँदै आएका छन्।-रासस

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्