यस महिनाको सुरुवातमा स्पेन र पोर्चुगलका प्यालियोन्टोलोजिस्टले उत्खनन काम पूरा गरे । काम पूरा हुनेबित्तिकै उनीहरु चकित परे किनभने जुन अवशेष भेटिएको छ त्यो ८२ फिट लामो छ । यो त्यो डाइनासोरको कंकाल हो जुन १४.५ करोड वर्ष अघि धर्तीमा भएको अनुमान गरिन्छ । अर्थात् युरोपमा हालसम्म भेटिएको विश्वको सबैभन्दा ठूलो डाइनासोर । यसअघि कुनै पनि युरोपेली देशमा यति ठूलो डाइनासोरको अवेशष भेटिएको थिएन ।
वैज्ञानिकले दिएको जानकारी अनुसार यहाँ जुन डाइनासोरको कुरा भइरहेको छ, ती १० करोड वर्षदेखि १६ करोड वर्षसम्म धर्तीमा घुम्ने गर्दथे । यो त्यहि समय थियो जब उत्तरी अमेरिकामा ब्राचियोसरस अल्टिथोरेक्स र अफ्रिकामा जिराफटिट्यान ब्रान्काई घुम्ने गर्दथे । त्यतिबेला पोर्चुगलको पश्चिमी इलाकामा लुसोटिटेन अटलेन्सिस पनि थिए ।
जुन अवशेष भेटियो त्यसको अनुसन्धान गरेपछि वैज्ञानिकले डाइनासोरको उचाई १२ मिटर र लम्बाई २५ मिटर भएको जानकारी दिएका छन् । लिस्बन युनिभर्सिटीमा पोस्टडक्टरल रिसर्चर एलिसाबेटे मालाफियाले यसलाई एउटा निकै ठूलो विचित्र खोज बताएकी छिन् । उनले भनिन्, ‘यो कंकाल जुन अवस्थामा भेटिएको छ, त्यसमार्फत् हामी उक्त डाइनासोरको थ्रीडी बडी स्ट्रक्चर बनाउन सक्छौँ । उसको शरीरको आन्तरिक हिस्साको नक्सा तयार पार्न सक्छौँ ।’
एलिसाबेटेले यो जिवाश्मलाई लिस्बन युनिभर्सिटी लगिनेसमेत जानकारी दिइन् । उनले भनिन्, ‘यसलाई सुरक्षित तरिकाले राख्न, यसबारे अन्य विभिन्न खालका अध्ययन गर्नका लागि हामीले यसलाई लिस्बन युनिभर्सिटी लैजान लागेका हौँ । हाल यसको शरीरका ठूला हड्डीलाई सुरक्षित तरिकाले पुर्याइसकिएको छ । यसका करङ र पिठ्यूँका हड्डी युनिभर्सिटी पुगिसके । त्यसपछि साना हड्डी पुर्याइनेछन् । यसलाई युनिभर्सिटीमा त्यसै क्रममा राखिनेछ जुन क्रममा भेटिएका थिए । त्यसपछि हामी आसपासका इलाकामा उत्खनन कार्य गर्नेछौँ ।’
वैज्ञानिकका अनुसार केही हिस्सा यस्ता छन् जसलाई प्रयोगशालाको रुपमा हेरिन आवश्यक छ । यहाँका माटो र धुलोको कण निकालेर अनुसन्धान गर्नुपर्छ । यो खोज सारोपोड्स डाइनासोरबारे अध्ययन गर्नका लागि निकै जरुरी भएको वैज्ञानिकले बताएका छन् ।