काठमाडौं । म्यानमारका सैनिक शासकको आलोचना गर्ने मोडललाई थाइल्याण्ड प्रवेशमा प्रतिबन्ध लगाइएको छ ।
समाचार संस्था एपीका अनुसार हान ले भनेर चिनिने मोडल थाउ नान्डर आङलाई बुधबार भियतनामबाट फर्किनेक्रममा बैंककको सुवर्णभूमि विमानस्थलमा रोकिएको छ । अध्यागमनका एक अधिकारीले उनको ट्राभल डकुमेन्टमा केही समस्या भएको औंल्याउँदै प्रवेशमा प्रतिबन्ध लगाएको जनाएका छन् ।
उनले स्वदेश फर्कंदा सैनिक शासनबाट हुनसक्ने कारबाहीका कारण आफू भयभित भएको जनाएकी छिन् ।
गत वर्ष थाइल्याण्डमा भएको सौन्दर्य प्रतियोगितामा उनले म्यानमारका सैनिक शासकको आलोचना गरेकी थिइन् ।
प्रजातन्त्रका लागि सडकमा आएका प्रदर्शनकारीमाथि आफ्नो देशको सेनाले दमन गरिरहेको भन्दै सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपील गरेकी थिइन् । लोकतन्त्र र मानव अधिकारको पक्षमा उनले दिएको अभिव्यक्तिका कारण म्यानमारमा उनको सुरक्षा जोखिम बढेको हो ।