Thursday, May 2
Shadow

उपत्यका बाहिर जाने सवारी साधनका लागि रुट परमिट खुला


  • -इ
  • इ+

काठमाडौं- दशैं, तिहारका लागि आ-आफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले आजबाट देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरेको छ । दशैंको पूर्णिमा (असोज २३ गते) सम्मका लागि लागि यात्रु आ-आफ्नो घर जान र फर्कन सजिलो होस् भनी यो व्यवस्था गरिएको हो । यातायात व्यवस्था विभागले कुनै बाटोको विशेष प्रकृतिका कारण निषेध गरिएका आकार र प्रकारका सवारीसाधनमा भने बन्देज कायम रहने जनाएको छ ।

दशैंका समयमा बर्सेनि काठमाडौं  उपत्यकाबाट ठूला सङ्ख्यामा यात्रु बाहिरिने गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले गत वर्ष १० लाख यात्रु काठमाडौं  उपत्यकाबाट बाहिरिएकामा यस वर्ष त्यो सङ्ख्या २० लाख पुग्नसक्ने बताए ।

काठमाडौंबाट मात्रै होइन उपत्यका बाहिरका क्षेत्रीय सहरबाट र जिल्ला सदरमुकामबाट पनि धेरै यात्रु आ-आफ्नो घर जाने गरेका छन् । कतिपय यात्रु काठमाडौं  बाहिरबाट उपत्यका भित्रने भए पनि त्यो सङ्ख्या कम रहेको महासङ्घले जनाएको छ । उनले भने, ‘यहाँबाट भरिएर गएका गाडी खालीजस्तै फर्कन पर्छ ।’

सबै क्षेत्रले यात्रुबाहक सवारीसाधनलाई पहिलो प्राथमिकतामा दिएर त्यसपछि मात्रै निजी र मालबाहक सवारीसाधनलाई दिनुपर्ने उनले बताए । अति आवश्यक पर्ने सामान ल्याउनेबाहेक अठार र बीस चक्के सवारीसाधन चल्न पाउने छैनन् । विभागले १५ गतेबाट २२ गतेसम्म नारायणगढबाट काठमाडौंसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको छ ।

यस वर्ष नयाँ सवारीसाधन नआएकाले हाल भएकालाई व्यवस्थापन गर्ने वरिष्ठ उपाध्यक्ष सिटौलाले बताए । कतिपय यात्रु यो महिनाको सुरुदेखि नै जान थालेका छन् भने यो सङ्ख्या आजदेखि अझै बढ्ने अनुमान गरिएको छ । सबैभन्दा बढी चाप फूलपाती पछि हुने उनले बताए ।

दशैं, तिहार, छठसँगै निर्वाचनमा जाने यात्र यो अवधिमा बाहिरिने महासङ्घले जनाएको छ । सडकमा रहेका खाल्डाखुल्डी र पहिरो पन्छाउन ‘हेभि इक्वुपमेन्ट’ ठाउँठाउँमा राख्न सडक विभागलाई महासङ्घले अनुरोध समेत गरेको छ । यस वर्ष वर्षाले गर्दा देशभरका धेरै सडकमा खाल्डाखाल्डी छन् । वर्षा नरोकिएकाले ठाउँठाउँमा पहिराका कारण अहिले पनि सडक अवरुद्ध भइरहने जनाइएको छ । रासस

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्