Sunday, April 28
Shadow

कतार विश्वकप : कस्तो हुनेछ एसियाली चुनौती ?


  • -इ
  • इ+

दोहा । कतार विश्वकपमा एसियाबाट कीर्तिमान ६ टिमको प्रतिनिधित्व हुनेछ । फेरि एकपल्ट विश्वकप एसियामै हुँदै छ । त्यसैले एसियाली फुटबल समर्थकको कामना हुनेछ, कुनै टिमले सन् २००२ मा दक्षिण कोरियाले जस्तै सेमिफाइनल वा त्यसभन्दा माथिको यात्रा तय गरोस् ।

दक्षिण कोरियाको त्यस ऐतिहासिक प्रदर्शनको २० वर्षयता कुनै पनि एसियाली टिमले त्यस छेउछाउको प्रदर्शन गर्न सकेका थिएनन् ।

त्यतिबेला गुस हिडिंकको कोरियाली टिमले पोर्चुगल, इटाली र स्पेनको चुनौती काट्दै आफ्नै घरेलु मैदानमा भएको प्रतियोगिताको अन्तिम चारसम्मको अविश्वसनीय यात्रा तय गरेको थियो । यसपल्ट आयोजक कतारसँगै जापान, दक्षिण कोरिया, साउदी अरेबिया, इरान र अस्ट्रेलियाले एसियाली चुनौती पेस गर्नेछन् । उनीहरू सबैको समान उद्देश्य रहनेछ, प्रतियोगितामा आफ्नो प्रदर्शन पछिसम्म सम्झिने गरेर छाप छाड्न सकियोस् । तर, यसका लागि कडा मिहिनेत चाहिनेछ ।

सन् २००२ यता दक्षिण कोरिया एकैपल्ट मात्र नकआउट चरण पुगेको छ । अहिले पनि उसको सम्भावना कमजोर छ । त्यसको एकमात्र कारण टिमका सबैभन्दा प्रमुख खेलाडी सन ह्युङ–मिन घाइते छन् । टोटेनहमका खेलाडीलाई यसै महिना प्रिमियर लिग खेल्ने क्रममा अनुहारमा चोट लागेको हो । उनी कतारमा टिमसँगै छन् । ‘फेस मास्क’ लगाएर अभ्यास गरिरहेका छन् । स्वयं ३० वर्षीय खेलाडीले आफूले विश्वकप खेल्नेमा शंका रहेको बताएका छन् ।

पहिलो चरणमा दक्षिण कोरियाले पोर्चुगल, उरुग्वे र घानाको सामना गर्नेछ । ‘म चोटका बावजुत पनि यहाँ आएको छु । मलाई कुनै पनि बेला चोट बल्झिने डर छ । म प्रत्येक खेल खेल्ने छु भनेर भन्न सक्दिनँ । बरू म आफ्नो स्वास्थ्य स्थितिबारे प्रत्येक दिन, प्रत्येक क्षणको जानकारी दिइरहेको हुनेछु ।’ जापान भने तीनपल्ट विश्वकपको नकआउट चरण पुगेको छ । जापान समूह ‘ई’ मा जर्मनी, स्पेन र कोस्टारिकासँग जित निकाल्ने दाउमा हुनेछ ।

जापानले चार वर्षअगाडि अन्तिम १६ को खेलमा बेल्जियमलाई कडा चुनौती पेस गरेको थियो । तथापि ३–२ ले पराजित रह्यो । यो खेल प्रतियोगिताकै उत्कृष्ट प्रतिस्पर्धा रहेको थियो । तर जापानको तयारीमा धक्का लागेको छ, जतिबेला जापान अन्तिम मैत्रीपूर्ण खेलमा क्यानडाको हातबाट हालै २–१ ले पराजित रह्यो । कप्तान माया योशिदाले भनेका छन्, ‘यो खेलले हाम्रो टिमको कमजोरी प्रस्ट देखाएको छ । त्यसैले टिममा सुधार आवश्यक छ ।’

आयोजक कतार पहिलोपल्ट विश्वकप खेल्दै छ । सन् २०१९ मा एसिया कप जितेर कतारले केही हदसम्म आफूलाई प्रमाणित भने गरेको छ । स्ट्राइकर अल्मोज अली प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी बनेका थिए । सन् २०२१ को उत्तर अमेरिकाको गोल्डकपमा पनि उनले यस्तै उपलब्धि दोहोर्‍याएका थिए, जतिबेला कतारलाई पाहुना टिमका रूपमा बोलाइएको थियो । कतारी टिमका लागि स्पेनी प्रशिक्षक फेलिक्स सान्चेज अभिभावकका रूपमा रहेका छन् ।

उनले १६ वर्षदेखि कतारी टिमको जिम्मेवारी सम्हालिरहेका छन् । उनलाई विश्वास छ, सबै प्रकारको सम्भावना खुला छ । तर, उत्तिकै गाह्रो पनि छ, किनभने कतारको समूहमा नेदरल्यान्ड्स, इक्वडेर र सेनेगल छन् । सान्चेज मान्छन्, ‘सन् २०१९ मा कतारले एसिया कप जित्नेमा कसैको विश्वास थिएन । पक्कै पनि म कतारले यसपल्ट विश्वकप जित्ने छ भनेर भनिरहेको छु, तर हामी राम्रो खेल्नेछौं र प्रतिद्वन्द्वीलाई बलियो चुनौती पेस गर्नेछु ।’

इरान लगातार तेस्रोपल्ट विश्वकपमा छनोट भएको छ । तर इरानको पनि तयारी कमजोर रहेको छ । सेप्टेम्बरमै मात्र ड्रागन स्कोसिच बर्खास्तगीमा परे । उनको स्थानमा फेरि कार्लोस क्विरेज व्यवस्थापकमा फर्केका छन् । अहिले तत्काल २२ वर्षीय महसा अमिनीको निधनका कारण पूरा देशमा सरकार विरोधी प्रदर्शन चर्किरहेको छ । महिलाको पोसाकसम्बन्धी नियम तोडेको आरोपमा उनी पक्राउमा परेकी थिइन् । प्रहरी नियन्त्रणमै उनको मृत्यु भएको थियो ।

इरानी कप्तान अलिरेजा जहानबक्सले आफ्ना सबै खेलाडीको ध्यान पूर्णतः विश्वकपमै केन्द्रित रहेको दाबी गरेका छन् । फेयर्नुडका खेलाडी जहानबक्सले भनेका छन्, ‘हामी यहाँ फुटबल खेल्न आएका हौं र यसमै केन्द्रित रहने छौं ।’ अस्ट्रेलियाले प्लेअफमा पेरुलाई पन्छाएर कतारको टिकट काटेको थियो । साउदी अरेबिया आफैं कठिन समूहको रहेको छ । साउदीले आफ्नो समूहमा अर्जेन्टिना, पोल्यान्ड र मेक्सिकोको सामना गर्नेछ । एएफपी

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्