Sunday, May 12
Shadow

निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति


  • -इ
  • इ+

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति दिनुभएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालन गर्न स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो । निर्वाचन सुरक्षाका लागि झन्डै ७५ हजार नेपाली सेना परिचालन गर्ने तयारी गरिएको छ । एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाली सेनासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका गरी झन्डै तीन लाख सुरक्षाकर्मी परिचालन गर्ने तयारी भइरहेको छ । निर्वाचनमा नेपाली सेनालाई मतपत्र छपाइको सुरक्षा,  ढुवानी, निर्वाचन स्थलको सुरक्षा, विस्फोटक पदार्थ निष्क्रिय गर्नेलगायतका सुरक्षा जिम्मेवारी तोकिएको छ । निर्वाचन अवधिभर सेनालाई कारागार सुरक्षा, विशिष्ट तथा अति विशिष्ट व्यक्तिको सुरक्षामा परिचालन गर्ने तयारी

भएको छ ।  गृह मन्त्रालयले चारवटै सुरक्षा निकायलाई एकसाथ परिचालन गर्न निर्वाचन विशेष सुरक्षा योजनासमेत पारित गरिसकेको छ ।

आगामी निर्वाचनमा मतदाता, मतदान केन्द्र तथा मतपेटिकाको सङ्ख्या थपिने भएकाले सुरक्षा जनशक्ति विगतको निर्वाचनमा भन्दा वृद्धि हुने गृह मन्त्रालयले जनाएको छ ।

निर्वाचन सुरक्षाका लागि झन्डै ७५ हजार नेपाली सेना, ७२ हजार नेपाल प्रहरी, ३५ हजार सशस्त्र प्रहरी तथा २० हजारको हाराहारीमा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी खटाउने तयारी गरिएको छ ।

निर्वाचनमा देशभर २२ हजार ५३४ मतदान केन्द्र रहनेछन् र त्यसको सुरक्षाका लागि ७१ हजार ६९३ प्रहरी तथा एक लाख १५ हजार म्यादी प्रहरी परिचालन गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । आगामी निर्वाचनमा झन्डै पाँच लाख नयाँ मतदाता थपिने भएका छन् ।

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्