Saturday, May 11
Shadow

कारागारमा पहिलोपल्ट मनौतीपछि नवाह


  • -इ
  • इ+

नागेन्द्रकुमार कर्ण

महोत्तरी, असोज १२ गते । महोत्तरी र धनुषा जिल्लाको लागि रहेको एक मात्र जिल्ला कारागार महोत्तरीमा कैदीबन्दीहरुले नवाह शुरु गरेका छन् ।

कारागारभित्र रहेका कैदीबन्दीहरुले दशैंको अवसर पारेर घटस्थापनाको दिनदेखि नौ दिने रामनाम सङ्कीर्तन (नवाह) प्रारम्भ गरेको जलेश्वर कारागार प्रमुख रामचन्द्र साहले बताउनुभयो । उहाँले देशमा रहेको ७४ वटा कारागारमध्ये पहिलोपल्ट जलेश्वर कारागारका कैदीबन्दीहरु मिलेर नवाह शुरु गरेको दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेसम्म नेपालको कुनै पनि कारागारमा नवाह भएको थिएन तर महोत्तरी कारागारमा रहेका कैदीबन्दीहरु मिलेर घटस्थापनादेखि नवाह शुरु गरेको छ ।’

२०७२ सालको मधेश आन्दोलनको क्रममा सशस्त्र प्रहरीका हवलदार थमन विश्वकर्माको हत्या गरेको आरोपमा कारागारमा रहेका जलेश्वर नगरपालिका वडा नं. १ का सञ्जयकुमार साहको लागि मनौती (भाकल) गरेका कारागारका नाइके चन्द्रदीप यादवले नवाह शुरु गरेको कारागार प्रमुख साहले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मूल नाइके यादवले मनौती गरेको कारणले आफ्नो व्यक्तिगत रकम तथा कैदीबन्दीहरुको सहयोगबाट कारागारमा नवाह शुरु गरेका छन् ।’

केही दिन अगाडि कारागारमै कैदीबन्दी सञ्जयकुमार साह गम्भीर बिरामी भएपछि नाइके यादवले कैदीबन्दी साह ठिक भएपछि आफूले कारागारमा नवाह गर्ने मनौती गरेका थिए ।

कारागारभित्रै रहेको जैलिया माताको मन्दिर प्राङ्गणमा सबै कैदीबन्दीको सहयोगले नवाह शुरु गरेको जानकारी मूल नाइके चन्द्रदीप यादवले दिनुभयो । उहाँले कैदीबन्दीको स्वास्थ्य र मङ्गलको कामना गर्दै निष्ठा र श्रद्धापूर्वक कारागारका कैदीबन्दीहरु सम्मिलित भई नवाहमा भाग लिएको बताउनुहुँदै नवाहले कैदीबन्दीहरुमा सकारात्मकताको विकास हुने बताउनुभयो ।

कैदीबन्दीको आन्तरिक प्रशासकको रुपमा रहेका नाइकेले जेलको भान्छा सञ्चालन, कैदी–बन्दीको गतिविधि अनुगमन, सरसफाइलगायतका काम हुने गरेका छन् ।

कारागार प्रमुख साहले कारागार ऐन, २०१९ र नियमावली, २०२० तथा कारागार व्यवस्थापन कार्यविधि निर्देशिका, २०६१ मै जेल सञ्चालनका लागि सरकारी प्रशासनसँगै कैदी–बन्दीको आन्तरिक प्रशासनको व्यवस्था गरिएको बताउनुहुँदै असल चालचलन भएको व्यक्तिलाई कारागारभित्र शान्तिसुरक्षा र सुव्यवस्थासमेत कायम गर्ने गरी नाइकेको व्यवस्थापन हुने गरेको जानकारी दिनुभयो ।

जीर्ण कारागार र क्षमताभन्दा बढी कैदीबन्दीका कारणले यस कारागारमा खानेपानी, दिसापिसाबका लागि समस्या देखिए पनि विस्तारै समस्याहरुलाई न्यूनीकरण गरिएको कारागार प्रमुख साहले बताउनुभयो । उहाँले १३५ क्षमता रहेको यस कारागारमा अहिले ५२४ कैदीबन्दी रहेको जानकारी दिनुभयो ।  गाेरखापत्र

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्