Thursday, May 2
Shadow

अग्लुङ्गका किसान बाँदर र बँदेलबाट पीडित


  • -इ
  • इ+

रमेश विश्वकर्मा

गुल्मी । गुल्मीका ग्रामीण भेगका किसान बाँदर र बँदेलबाट पीडित भएका छन् । जिल्लाको पश्चिम भेगमा पर्ने मदाने गाउँपालिका –१, अग्लुङ्गका किसानले आफूहरु बाँदर र बँदेलबाट निकै पीडित भएको गुनासो गरेका हुन् ।

वर्ष दिन खानका लागि लगाएको खेती घरभित्र राख्ने तयारी भइरहेका बेला घरमा स्यार्न नपाउँदै बाँदर र बँदेलले हानि नोक्सानी गरिदिएको अग्लुङ्गका किसानको गुनासो छ । पाकेको खेती बाँदर र बँदलले नष्ट गरिदिने भएपछि आफूहरु पीडित हुनेगरेको कृषक विष्णु चन्दले बताउनुभयो ।

दुर्गम भेगमा रहेका किसानसँग अन्तरक्रिया गरी उनीहरुको समस्या पहिचान गर्ने उद्देश्यले कृषि ज्ञान केन्द्र गुल्मीले अग्लुङ्गमा आयोजना गरेको कार्यक्रममा त्यहाँका किसानले सो गुनासो गरेका छन् ।

कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले किसानले उठाएका विषयवस्तु र जिज्ञासाको समाधान गर्दै परम्परागत कृषि प्रणालीमा सुधार गर्नुपर्ने बताउनुभयो ।  किसानलाई निर्वाहमुखीबाट व्यावसायमुखी बनाउन नयाँ प्रविधियुक्त सीपको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै, किसानसँगको अन्तरक्रिया कार्यक्रममा मदाने गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवरले कृषि नै अर्थतन्त्रको मुख्य आधार भएको भन्दै पालिकाले स्थानीय उत्पादनलाई वृद्धि गरी त्यसलाई व्यवसायमूलक बनाउने बताउनुभयो । उत्पादित वस्तुलाई सहकारीको माध्यमबाट बिक्री वितरण गर्ने र किसानलाई आत्मनिर्भर बनाउनेजस्ता कार्यक्रमलाई पालिकाले प्रमुख प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो ।

किसानको समस्या पहिचान कार्यक्रममा किसानले माटो परीक्षण, प्यान नम्बर दर्ता गर्दाको दोहोरो कर, पशु बीमा, सिँचाइको समस्या, सीपमूलक तालिमलगायतका विषयमा जिज्ञासा राखेका थिए । कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ गुल्मीका प्रमुख गङ्गा पोखरेल, वडाध्यक्ष सुशील चन्दलगायतले कार्यक्रममा सहजीकरण गर्नुभएको थियो । गाेरखापत्र

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्