Friday, May 17
Shadow

तिहार नजिकिएसँगै ओखरको आयात बढ्दै


  • -इ
  • इ+

रसुवा। तिहार पर्वलाई लक्षित गरी रसुवागढी नाकाबाट ओखर तथा स्याउ आयात हुन थालेको छ । चालु आर्थिक वर्षको साउनदेखि नै अत्यन्तै न्यूनरूपमा आयात भइरहेको चिनियाँ दाँते ओखर तथा स्याउ दशैंपछि दैनिक आयात हुन थालेपछि नेपाली उपभोक्ताको खरिदमा सहजता आएको हो ।
दशैं सकिएलगत्तै चार दिनको अन्तरालमा २६ कन्टेनर ओखर र १८ कन्टेनर स्याउ रसुवागढी नाकाबाट नेपाल भित्रिएको सीमा सुरक्षाकर्मीले बताएका छन् । लोड भएका नेपाली कन्टेनर डिब्बा भन्सार प्रक्रिया पूरा गरी क्रमिकरूपले काठमाडौं प्रस्थान गरिरहेकाले अबका दिनमा ओखर तथा स्याउ खरिदको मूल्य सर्वसुलभ हुने अपेक्षा गरिएको छ ।
तिहार पर्व नजिकिइसकेको र अर्कोतर्फ मन्दिरमा चढाउनेदेखि बिरामीलाई खुवाउनसमेत फलफूलका रूपमा स्याउ नै पहिलो रोजाइ हुने गरेका कारण व्यवसायीले फलफूलको आयातलाई प्राथमिकता दिँदै आएको व्यवसायी धर्म पौडेलले बताउनुभयो । नेपाली व्यापारीले माग गरेलगतै चिनियाँ ठूलो ढुवानी कम्पनी मुसा टासपोर्टले छिटो–छरितो रसुवागढी पुर्‍याउने गरेको व्यवसायीले बताउँदै आएका छन् ।
चालु आर्थिक वर्षको साउनदेखि दशैं अगाडिसम्मको तथ्याङ्कले १६ कन्टेनर दाँते ओखर, चार कन्टेनर स्याउमात्र आयात भएको देखाएको छ । नेपालीको दोस्रो ठूलो चाडपर्व तिहार भएका कारण पछिल्लो समय स्याउका साथै ओखरको आयात बढ्न थालेको हो । अन्य सामानको सङ्ख्या सबै गणना गर्नुपर्ने र स्याउ तथा ओखरको शुल्कमा प्रति कन्टेनरको मात्र हिसाब हुने भएका कारण ढुवानीकर्ताको रोजाइ पहिलो फलफूल हुने गरेको पाइएको छ ।
चीनको केरुङ क्षेत्रमा कोभिड सङ्क्रमण बढेको भन्दै चिनियाँ सीमा अधिकारीले गत साउन २१ गतेदेखि भदौ २९ गतेसम्म बन्द गराएको आयात ३० गतेदेखि पुनः सुरु भएको र पहिलाको तुलनामा आयात परिमाणसमेत केही मात्रामा बढेको सीमा अधिकारीले बताएका छन् । चालु आर्थिक वर्षको गत साउनदेखि असोज २७ गतेसम्म आयात भएका सामग्रीको मूल्याङ्कनबाट कुल रु एक अर्ब ४१ करोड भन्सार शुल्कवापत राजस्व दाखिला भइसकेको प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले बताउनुभयो ।
आयात भएका सामग्रीमध्ये स्याउ तथा हाइड्रोपावरका सामग्रीको शुल्क अत्यन्तै कम हुने प्रावधान छ । भन्सार हातामा प्रवेश गरेका सामग्री छिटोभन्दा छिटो मूल्याङ्कन गराइ जाँचपास गराउन यथेष्ट मात्रामा जाँचकी परिचालन गरिएको अधिकृत भण्डारीले बताउनुभयो ।
गत भदौ ३० गतेयता समग्रमा रेडिमेट एक सय ७८, हाइड्रोका ८०, मेडिकल सामग्री दुई, फर्निचर दुई कन्टेनर डिब्बा र इलेक्ट्री कार नौ, इलेक्ट्री स्कुटरी तीनवटा आयात भइसकेको सीमा सुरक्षाकर्मीले बताएका छन् । नारायणप्रसाद भण्डारी नयाँ प्रमुखका रूपमा गत महिनाबाट रसुवा भन्सरमा बहाली गर्नुभएपश्चात सामान जाँचपास प्रक्रिया छिटोछरितो हुन थालेको चालकहरूले बताएका छन् ।

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्