सन् १९७१ मा विश्वकपका आयोजकहरुले आफ्नै कप भन्नै पाएनन्।
विजेताले चार वर्षका लागि त्यसअघि टाइटल राखेको थियो तर त्यो अब घरमै आउँदै थियो।
त्यो ट्रफी १४ इन्च अग्लो थियो। सुनको लेपन गरिएको त्यसमा विजयकी प्रतीक मानिने ग्रिक देवी नाइक आफ्नो टाउकोमा अष्टभुज कप बोकेर उभिएकी थिइन्।
सन् १९३४ र ३८ मा इटालीले जिते पनि दोस्रो विश्वयुद्धका कारण नाजीको हातबाट जोगाउन यसलाई जुत्ता राख्ने बाकसमा लुकाइएको थियो।
सन् १९६६ मा वेस्टमिनिस्टरमा सार्वजनिक प्रदर्शनीको क्रममा यो चोरियो। पिकल्स नामको एक तीक्ष्ण कुकुरले आफ्नो घरमालिकको घरबाहिर पत्रिकामा बेरिएको अवस्थामा फेला पारेको थियो।
त्यसपछि सन् १९८३ मा ब्रजिलेली फुटबल महासंघकै कार्यालयबाट फेरि यो चोरिन पुग्यो। त्यसयता भने यो कहिल्यै फेला परेन।
***
नयाँ ट्रफी बनेसँगै फिफाले यसलाई घर लैजान नदिने निर्णय गरेको थियो।
नयाँ ट्रफी बनाउन फिफाले सात देशबाट ५३ डिजाइन मगायो। त्यसमध्ये एउटा गोप्य रुपमा आएको डिजाइन थियो– मिलानका कलाकृतिकार सिल्भियो ग्याजानिगा (१९२१-२०१६) बाट।
५० वर्षीय उनले आफ्नो जीवन अन्य मानिसको सफलताको प्रतीक बनाउनमै बिताए।
दोस्रो विश्वयुद्धताका हुर्किएका ग्याजानिगाको युवा वय मिलानको ज्वेलरी र आर्किटेक्चरमा बित्यो।
किशोरावस्थामै उनले पहिलो मेडल डिजाइन गरेका थिए। त्यसको अर्को तीन दशक गरगहना बनाउन र स्किइङ ट्रफी डिजाइनमै बित्यो।
त्योसँगै उनको उदय ट्रफी डिजाइन कम्पनी बर्टोनीको निर्देशकका रुपमा भयो।
ठीक त्यहीबेला उनले फिफाले नयाँ ट्रफी खोजिरहेको थाहा पाएका थिए। अनुवादकको सहायतामा उनले अन्तर्वार्ता दिए।
मिलानको आर्टिस्ट क्वार्टरमा रहेको उनको स्टुडियोमा उनले यसलाई गोप्य राखे र तत्कालै काम थालेका थिए।
स्फोर्जा क्यासलनजिकैको सामान्य स्टुडियोमा १ हप्ता चुप बसेपछि यसबारे उनलाई आइडिया फुरेको थियो। त्यसो त ग्याजानिगा आफैँ एक फुटबल प्रशंसक थिए। जीवनको उत्तरार्धमा समेत उनले इटलीको एसी मिलान क्लबलाई समर्थन गर्थे।
उनले जीवित हुँदै भनेका थिए– अघिल्लो ट्रफीको महत्त्व र इतिहासबारे म जानकार नै थिएँ।
९३ वर्षको उमेरमा (सन् २०१४) मा मिडियासँग उनले भनेका थिए, ‘द रिमेट ट्रफी सन् १८०० का वर्षहरुको अन्त्य तथा नयाँ कपको लागि एउटा पूर्ण उदाहरण थियो। जब कि मेरो डिजाइन सन् १९०० का वर्षको अन्त्य र नयाँ कपको लागि असल उदाहरण थियो।’
उनका अनुसार फिफाले पुरानो ट्रफीलाई बहुमूल्य धातुले बनाएको थियो। रिमेट ट्रफी एक गहना थियो तर सन् १९७१ मा फिफा टेलिभिजनको युगबारे जानकार थियो। त्यहीकारण उनीहरु फोटेजेनिक केहीको खोजीमा थिए जुन नरम र टिभीमा हेर्दा राम्रो देखियोस्!
शताब्दीको अन्त्य दर्शाउने कुनै एउटा नयाँ संकेत…एउटा अमूल्य कलाकृति, न कि कुनै बाटुलो रत्न!
र, त्यही कारण ग्याजानिगाले पुरानो कडा ट्रफीभन्दा बढी प्रवाहित सानो केही बनाउने निष्कर्षमा पुगे।
उनले जब त्यस्तो ट्रफीको चित्र कोरे हरेक कुरालाई छोड्दै सौन्दर्य आनन्द अघि आयो, जहाँ रेखाहरु शिरानमा बस्ने संसारलाई थेग्न घुम्दै माथितिर गएका थिए– द वर्ल्ड कप।
‘ती रेखाहरुमा बसेको आकारको अर्थ एउटा मानव, नायक तर एक्लो होइन भन्ने हुन्छ किनभने प्रतियोगिता र हरेक खेलमा दुई टोलीको सहभागिता हुन्छ, दुवै सँगसँगै भिडिरहेका हुन्छन्’, ग्याजानिगाले भनेका थिए, ‘ऊर्जा, बल, शक्ति, चलायमान, नरमपना, चपलता, गति, सफलता, प्राप्ति, विजय, जित। यी सबै वरपर घुमेरै संसारलाई अंगाल्नु थियो जो सबैमाथि र हरेक मानिसमाथि छ।’
जब उनकै डिजाइन छानियो…
आफ्नो स्केचबाट खुसी हुँदै ग्याजानिगाले फिफालाई डिजाइन प्रस्तुत गरे। इमेलको जमानाअगाडिको कुरा थियो यसबारे केही प्रतिक्रिया सुन्न महिनौँ लाग्थ्यो।
‘म मेरो डिजाइनप्रति गर्वबोध गर्दै थिएँ र नतिजासँग पनि सन्तुष्ट थिएँ’, उनले भनेका थिए, ‘तर इमानदार भएर भन्दा मैले सफल हुन्छु भन्ने सोचेकै थिइनँ।’
महिनौँ लामो समयपछि उनलाई फिफाबाट एउटा सन्देश आयो जसमा ‘उनको डिजाइन छानिएको’ लेखिएको थियो।
युरोपेली फुटबल प्रतियोगितामा दिइने अधिकांश सिल्भर कपहरुको तुलनामा ग्याजानिगाको डिजाइन चम्किलो, प्रतिवादै गर्न नसकिने उच्चता र आनन्दको प्रस्तुतियुक्त थियो।
त्योभन्दा अरु के चाहियो! यो निःसन्देह हेर्दै प्रभुत्वशाली र टिभीमा अत्याकर्षक थियो– विपक्षीका वरिपरि विजेताका हातहरुले बेरिएको, संसारको वक्रताभित्र सूर्यको कान्ति चम्किरहेको।
पहिलोपटक आफैँले बनाएको ट्रफी देख्दा…
सामान्य र अत्यन्त साधारण यी डिजाइनरले त्यतिबेलाको आफ्नो भावभंगीलाई खुसी र गर्वबाहेक अरु केही पनि नसम्झिएको बताएका थिए।
तर जब उनले सन् १९७४ मा पहिलोपटक विश्वस्तरमा आफूले कुँदेको ट्रफी देखे मन थाम्न नसकेको स्वीकारेका थिए।
‘पहिलोपटक नै मेरा लागि सबै थोक भयो’, उनले पश्चिम जर्मनीका कप्तान फ्रान्ज बेकेनबायरले ट्रफी लिइरहेको क्षण सम्झिँदै भनेका थिए, ‘द वान!’
त्यसयता उक्त ट्रफी म्याराडोनादेखि जिनेदिन जिदानसम्मले उचालिसकेका थिए।
सन् १९३४ र ३८ को विश्वकप जित्दा इटाली आर्थिक कठिनाइ झेलिरहेको थियो। त्यसको धेरै पछि सन् १९८२ र २००६ मा भने ग्याजानिगाले आफैँले डिजाइन गरेको ट्रफी आफ्नो देशले उचालेको हेर्न पाए।
कस्तो छ अहिलेको ट्रफी?
अहिले ग्याजानिगाको डिजाइनयुक्त ट्रफी साढे १४ इन्च अग्लो, खोक्रो र १८ क्यारेट सुनले बनेको छ जसलाई कुनै पनि विजेताले लैजान पाउँदैन।
हरेक चार वर्षमा विजेताले त्यस्तै प्रतिकृति विजयको सम्झनाको लागि पाउँछन्। यद्यपि स्थायी ट्रफीको आधारमा विजेताको नाम र वर्ष कोरिन्छ।
उक्त ट्रफीको डिजाइनसँगै ग्याजानिगाको करिअरले पनि गति लियो। उनलाई पछि यूईएफए कप र यूईएफए सुपरकपजस्ता अन्य अन्तर्राष्ट्रियस्तरका फुटबल ट्रफीहरु डिजाइन गर्न लगाइएको थियो।
तर विश्वकपको ट्रफीजस्तो प्रतिष्ठित अन्य छैनन्।
‘खेलाडीहरुले यसलाई छुन सक्छन्, एकपटक वा यदि भाग्यमानी छन् भने अर्कोपटक पनि जित्न सक्छन्’, ग्याजानिगा भन्थे, ‘तर फिफा विश्वकप सधैँ मेरा लागि हो– म नै वास्तविक विजेता हुँ!’ (न्यारेटिभ्ली डटकमबाट)