Friday, May 17
Shadow

‘डिलबहाडुर घर्टी’लाई किन नेपाली बोल्न आउँदैन?


  • -इ
  • इ+

–नरेश रेग्मी शर्मा​

दाङ, सल्यान, प्युठान, रोल्पा र रुकुमको सम्बन्ध उकाली र ओरालीको सम्बन्ध हो। भञ्ज्याङ अनी चौतारीको सम्बन्ध हो। यो क्षेत्रका विभिन्न समुदायको लागि दाङ बसाईंसराई सुन्दर गन्तव्य मानिन्छ। त्यसै कारणले पनि हो अली बढी पहाडी भेगमा फैलिएको मगर समुदायको बस्ती दाङमा पनि बाक्लो छ।

सानो छँदा मेरो पनि एउटा मिल्ने मगर साथी थियो। आफ्नै फरक मातृभाषा  भएर होला ऊ नेपालीमा आफ्नो नाम पनि शुद्ध भन्न नसक्ने। दिलबहादुर घर्ती भन्नु पर्नेमा ‘डिल बहाडुर घर्टी’ भन्थ्यो। हामी उसलाई ‘डिले’ भनेर बोलाउँथ्यौँ र खोजीखोजी उसलाई उच्चारण गर्न अप्ठ्यारो पर्ने शब्द बोल्न लगाउँथ्यौँ। थारु र मगरलाई बोल्न अप्ठ्यारो पर्ने शब्द बोल्न लगाएर जिस्किने बानी थियो हाम्रो। ‘ए डिले ! ‘तीन टिन तेल’ भन त। ‘वातावरण’ भन त।’ हामी जिस्क्याई रहन्थ्यौँ। एकदम निर्दोष शैलीमा ऊ ‘टिन टिन टेल’ र ‘बाटाबरन’ भन्थ्यो।

अरु जनजाती जस्तै ऊ  ‘त’ र ‘ट’, ‘द’ र ‘ड’, ‘थ’ र ‘ठ’ उच्चारण गर्दा झुक्किन्थ्यो। हामी गलल्ल हाँस्थ्यौँ। हाँस्न त डिले पनि हाँसे जस्तो गर्थ्यो। तर, हिनताबोधले भरिएको अमिलो हाँसो। अबोध बालक नै भए पनि मलाई नेपाली शुद्ध र स्पष्ट बोल्न आएकोमा गर्व महसुस हुन्थ्यो र त्यही नेपाली जानेको आधारमा डिलेभन्दा म विशिष्ट हुँ जस्तो लाग्थ्यो।हुन त मलाई पनि उसको खाम भाषा आउँदैन थियो। कनीकुथी ‘काङ याङकी’(भात दिनुस), ‘चिप याङकी’(तरकारी दिनुस) सम्म भन्थेँ। मैले बोल्ने खाम भाषाका यी दुईचार शब्दमा व्याकरण शुद्ध थिए वा थिएनन त्यो मलाई आजसम्म पनि थाहा छैन। म कहिले कहिले उसको घरमा खाना खान जान्थेँ। घर आँगनमा उनीहरुको पुरै परिवार खाम भाषा बोल्थे। यी शब्द पनि त्यही बेला सिकेको। मलाई फररर नेपाली भाषा बोल्न किन आयो र डिलेलाई किन आएन? यो प्रश्नले मेरो दिमागलाई न सानो छँदा कहिलै हिर्कायो न मैले कहिलै सोचेँ कि मलाई मगर भाषा नआउँदा पनि उसले मलाई कहिलै पनि किन जिस्काएन?   तर, उसको जीवनको एउटा अन्तरविरोध मैले सानोमा कहिलै बुझ्न सकिन। कक्षा कोठा बाहिर ऊ धेरै क्षमतावान भए पनि डिले प्राय कक्षामा फेल हुन्थ्यो। बाहिर हामीसँग बोल्दा, खेल्दा ऊ निकै कल्पनाशील थियो। कक्षाकोठामा उसको ग्राफ जती नै ओरालो लागे पनि कक्षा कोठा बाहिर उसको अनुहारमा झल्किने सम्भावनाको ग्राफ सदैव उकालो लागिरहेको जस्तो लाथ्यो।  मलाई त ठूलो भएर वैज्ञानिक नै हुन्छ कि जस्तो लाग्थ्यो। स्मरण शक्ति राम्रो थियो। त्यसैले हाजिरी जवाफमा उसको प्रस्तुति राम्रो नै हुन्थ्यो। खेलकुदमा जहिले अब्बल। भाषामा शुद्धाशुद्धी मिल्दैन थियो। तर, कविता गजब लेख्थ्यो। यती हुँदा–हुँदै पनि कक्षा कोठामा उसको प्रस्तुति धेरै नै कमजोर थियो। नेपाली र अंग्रेजीमा जहिले फेल। उसलाई गणितको हिसाब बुझाउन निकै टाइम लाग्थ्यो। तर, जब बुझ्थ्यो सितिमिती बिर्सिन्न थियो। अरु सबै बिषयमा एकदम साधारण अंक ल्याउँथ्यो। ह्रस्व र दीर्घ, व्याकरण त बिलकुल कमजोर। कक्षा बाहिरको हाम्रो हिरो कक्षा भित्र किन जिरो भइरहेको थियो ?  यसको जवाफ खोज्न मलाई धेरै वर्ष लाग्यो।

झन्डै २१ वर्षपछि डिलेसँग दाङको घोराहीमा एक्कासी भेट भयो। शुरुमा त ठम्याउनै सकिन । तर, केही समयमै मेरो मस्तिष्कमा रहेको बच्चा हुँदाको डिलेको अनुहार र आजभोलिको अनुहारसँग मेल खाँदै–खाँदै गयो। मनभरी आनन्दको तरङ यसरी सञ्चार भयो कि मानौँ म आजको म नभएर उही बाल्यकालको ‘काले’ थिएँ। डिले मलाई ’काले’ भनेर बोलाउँथ्यो। केटोले बिहे गरिसकेको रहेछ। १२ वर्षको छोरो पनि सँगै थियो।। ‘नरेशजी के छ ट हालखबर? कटा हुनुहुन्छ आजकाल?’ उसले सोध्यो। अली अली गफगाफ भए। केटो आजभोलि पनि त्यसरी ‘टट’ भनेर नै बोल्दो रैछ। उही पुरानो डिले झलझली याद आउन थाल्यो। यत्तिकैमा दिलबहादुरले छोरालाई नमस्कार गर्न लगायो।  ‘अंकल नमस्कार !’ मैले नमस्कार फर्काएँ। नाम के हो ? सोधोँ।  ‘मेरो नाम अभ्यास हो अंकल’, तत्काल जवाफ आयो। अनी तिम्रो बुबाको नाम चाँहि के हो नि? ठट्यौली पारा सोधेँ।  ‘दिलबहादुर घर्ती’, मुसुक्क हाँस्दै भन्यो।  यतिक्कैमा दिलबहादुरले छोरालाई भन्यो, ‘बाबु ! टिन टिन टेल भन ट’  अभ्यासले भन्यो, ‘तीन टिन तेल।’  पछि दिलबहादुरले मलाई हेर्दै भन्यो, ‘नरेसजी छोरालाई टिन टिन टेल भन्न ट सिकाएरै छादे नि।’ खै किन हो किन त्यो सुनेर मेरो मनमा चिसो पस्यो। निकै चोट परेको हुनुपर्छ दिलबहादुरलाई। होइन भने किन सिकाउँथ्यो र छोरालाई आफूले जान्दै नजानेको ‘तीन टिन तेल’ भन्न?

छोरो कक्षा कोठा र बाहिर दुबैमा हिरो रहेछ। एकदम अब्बल। तर, आफ्नो मौलिक खाम भाषा भने बिलकुलै नजान्ने। यो देखेर केही सोच्न बाध्य भएँ। कागको गुँडमा हुर्किएको कोइलीले पनि बिर्सिन्न आफ्नो बोली। तर, किन जनजातीहरु आफ्नो मातृभाषा बिर्सिरहेका छन? के हो यसको कारण? मनमा प्रश्न जन्मिन थाले र सँगसँगै जवाफ पनि। मैले गर्दै आएको राजनीतिले यतीसम्म चाहिँ सिकाइसकेको थियो। यसको कारण थियो, नेपाली राज्यले लामो समय देखि थोपर्दै आएको एकल जातीय प्रभुसत्ता। एकल जातीय राज्यसत्ताको गुँडमा हुर्किरहेका जनजाति विस्तारै–विस्तारै आफ्नो मातृभाषा बिर्सिरहेका थिए। एकै किसिमका जनता उत्पादन गर्ने अभियानमा लामो समय नेपालको राज्यसत्ता यसरी लाग्यो कि पछिल्लो पुस्ता जनजाति प्रायले आफ्नो प्राचिन भाषा पुरै बिर्सिएर राज्यको नेपाली भाषा मात्र बोल्ने भए। मानौं राज्य नागरिक होइन कुनै कारखानामा उत्पादन भएका उस्तै उस्तै देखिने एकनासका जुत्ता उत्पादन गर्न चाहन्छ।

प्राय जनजातीले आफ्नो भाषा बिर्सिसके र जो बाँकी छन् उनीहरु न पूर्ण रूपले नेपाली बोल्नेको कथित मूलधारमा मिसिन सकिरहेका छन् न आफ्नो प्राचीन भाषा नयाँ पुस्तालाई पूर्ण रूपले सिकाउन सकिरहेका नै छन्। घरमा मातृभाषा नबोलौँ भाषा नै मास्सिएला भन्ने चिन्ता, बोलौँ घरमा चल्छ बाहिर चल्दैन। घरमा मातृभाषा र स्कुल(कलेजमा नेपाली भाषा। त्यसैले जनजातीका लागि यो शिक्षा प्रणाली ठूलो भुमरी बन्न पुग्यो। जसमा पुर्वका राई, लिम्बु, तराई–मधेशका मैथिली, थारु, सतार, पहाडकै तमाङ, गुरुङ यसरी घुमिरहेका छन् यसरी घुमिरहेका छन् कि अब उनीहरु चक्कर खाएर ढल्न मात्र बाँकी छ। यो लेख आफ्नो मौलिक  मातृभाषा हुँदा हुँदै पनि दोश्रो भाषा(नेपाली)मा पढ्न बाध्य भएका जनजाती र दोश्रो भाषामा पढ्दा ज्ञान आर्जन र चेतनाको स्तर निर्माणमा कस्तो असर पर्छ भन्ने विषयमा केन्द्रित छ। दोश्रो भाषाको माध्ययमबाट हुने  सिकाई, मस्तिष्कको विकाससँग र ज्ञान आर्जन कसरी सम्बन्धित छन् भन्ने विषयमा पनि यो लेखले थोरै प्रकाश पार्ने प्रयास गर्नेछ।      झण्डै झण्डै २० वर्ष अंग्रेजी पढ्दा र  लगभग ८ वर्ष अंग्रेजी भाषा र साहित्य पढाउँदा समेत आज पनि मलाई अंग्रेजीमा भन्दा नेपालीमा भएका पाठ्य सामाग्री पढ्न र बुझ्न् सजिलो लाग्छ। मैले अंग्रेजी ट्युसन नै पढाउन थालेको पनि ८ बर्ष भयो। धेरै अंग्रेजी आख्यान र गैर आख्यान पढिसके पछि पनि  अंग्रेजी किताबहरु नेपाली मै पढाउन  पाए झन् बुझाउन सक्थेँ जस्तो लाग्छ। किनकी मैले जति नै अंग्रेजी पढे पनि मेरो मातृभाषा नेपाली नै हो। हामी मध्य कोही अंग्रेजी बोल्न र लेख्नमा एकदम अब्बल नै भए पनि नेपाली समाजमा हुर्किने प्राय नेपालीका लागि अंग्रेजी दोश्रो भाषा नै हुन्छ।

आखिर किन हुन्छ यस्तो? यती धेरै वर्ष अंग्रेजी पढेर पनि हाम्रो बुझाईको विकास किन नेपाली मै बढी हुन्छ? के दोश्रो भाषामा पढाइने शिक्षाले मातृभाषा जत्तिकै बुझाइको स्तर निर्माण गर्न सक्छ? नेपालीमा धाराप्रवाह भाषण गर्न सक्ने कसैलाई एक वर्षसम्म लगातार अंग्रेजी भाषा सिकाएर अब अंग्रेजीमै भाषण गर भने पछि के उसले नेपाली जत्तिकै स्तरमा भाषण गर्न सक्छ त? मैथिली भाषामा अब्बल नागरिकले नेपालीमा परीक्षा दिए जस्तै नेपाली भाषा नै मातृभाषा हुने खस आर्यलाई थारु भाषामा परीक्षा दिनु पर्ने भयो भने के उनीहरुले उत्कृष्ट नतिजा दिन सक्छन?

धेरै विद्वानहरुले यो विषयमा अध्ययन गरेका छन्। उनीहरुले भाषा र बुझाइसँग मस्तिष्कको सम्बन्धको विषयमा विभिन्न तथ्यहरु पत्ता लगाएका छन्।  सबै भन्दा पहिला हामीले बुझ्नु पर्ने बिषय के हो भने शरीरले गर्ने हरेक क्रियाकपलाप मस्तिष्कद्वारा निर्देशित हुन्छन्। आँखा झिम्काउनु जस्तो सानो गतिविधिदेखि बोल्नु, हिँड्नु, सुन्नु जस्ता हरेक क्रिया मस्तिष्कको कुनै न कुनै हिस्साबाट निर्देशित हुन्छन्। उदाहरणका लागि हामीले देब्रे र दाहिने हातले एकै पल्टमा दुई फरक फरक कामहरु गर्न निकै अप्ठ्यारो हुनुलाई लिन सकिन्छ। देब्रे र दाहिने हात दिमागको फरक–फरक हिस्साले चलाउँछन् र दिमागले एकै पल्ट फरक फरक हातलाई फरक आदेश दिन गार्हो मान्छ।

विद्वानहरु भन्छन कि १२ वर्षको उमेर भन्दा पहिला मानिसको मस्तिष्कको ठोस कार्यविभाजन भइसकेको हुँदैन। गिदीको जुन सुकै भागले शरीरको जुन सुकै काम सञ्चालन गरिरहेको हुन सक्छ। अर्थात हात दिमागको कुन हिस्साले चलाउने, खुट्टा कुन हिस्साले चलाउने भन्ने छुट्टी सकेको हुँदैन। यसै पनि अनुमान लगाउने विषय यो हो कि सानोमा बच्चाको तालु कोमल हुन्छ। बिस्तारै तालुको हड्डी विकास हुँदै जान्छ र सार्हो हुन्छ। तालु सार्हो हुँदै गए पनि गिदीले ठोस् आकार पाइसकेको हुँदैन। गिदीले ठोस आकार १२ वर्षको आसपासमा पाउँछ। गिदीले ठोस् आकार नपाइसकेको हुनाले मस्तिष्कले काम गरिराखे पनि मस्तिष्कले गर्नु पर्ने कामको सूक्ष्म कार्यविभाजन भने भइसकेको हुँदैन।त्यसैले डाक्टरले समेत १२ वर्षको उमेरसम्म मस्तिष्कको शल्यक्रिया सजिलो हुने बताउँछन्। दिमागको कुनै भागमा चोट लागेको खण्डमा त्यो भाग काटेर फाल्दा दिमागको अन्य हिस्साले विस्तारै काटिएर फालिएको हिस्साबाट चल्ने गतिविधि समेत जिम्मा लिन सक्छ भन्ने विषय विभिन्न शल्यक्रियाबाट प्रमाणित भइसकेको बिषय हो। तर, सानो उमेरमा सजिलै गरिने शल्यक्रिया पनि १२ वर्षको उमेरपछि धेरै गार्हो हुने डाक्टर बताउँछन्।

बच्चाले मातृभाषा सिक्ने उमेर पनि यही हो। यदि कुनै बच्चालाई सानैदेखि विभिन्न भाषा गहन रूपले सिकाउने हो भने त्यो १२ वर्षको उमेरसम्म मात्र सम्भव हुन्छ। त्यो उमेरसम्म पनि राम्रोसँग नजानिएको भाषापछि गएर जति नै सिकिए पनि अनुवाद मात्र सिकिन्छ। मातृभाषा फरक भएपछि आफ्नो भाषामा नभएका उच्चारण गर्न गार्हो हुन्छ। कुरोको चुरो यही नेर छ। जसरी हामी पहाडीया खस (आर्यको मातृभाषा नेपाली रहदै आएको छ त्यसरी नै नेपालमा लामोसमयदेखि बसोबास गर्दै आएका जनजाति र आदिवासीको आफ्नै भाषा छ। सानै देखि आमाबाट भाषा सिकेका जनजातिको लागि जति नै ‘राष्ट्रिय’ भाषा भने पनि नेपाली भाषा दोश्रो भाषा नै हो । जसरी खस आर्यको लागि अंग्रेजी वा अन्य कुनै भाषा दोश्रो भाषा हो। जसरी हामीलाई अंग्रेजीमा बोल्न, लेख्न, सुन्न, पढ्न र  बुझ्न  गार्हो हुन्छ त्यसरी नै थारु भाषा सिक्दै  हुर्केका थारुलाई नेपालीमा पढ्दा अप्ठेरो हुन्छ। अंग्रेजी सामाग्री पढ्दा जसरी हामी सामाग्रीलाई जानेजती अनुवाद गरेर सिमित ज्ञान वा गलत ज्ञान प्राप्त गरिरहेका हुन्छौँ त्यसरी नै तामाङ मातृभाषा हुनेले नेपालीमा पढेको सामाग्री तमाङ भाषामा अनुवाद गरेर बुझिरहेका हुन्छन्। यो हेर्दा सामान्य लागे पनि निकै ठुलो अन्तरविरोध हो।

दोश्रो भाषामा लेख्दा, बोल्दा वा सुन्दा अनुवादको आवश्यकता अनिवार्य जस्तै हुन्छ। तर, मातृभाषामा बोल्दा अनुवादको आवश्यकता पर्दैन। आफ्नो भाषामा बोल्दा वा लेख्दा मानिस सिधै बुझाइको गहिराइबाट सोच्ने गरिरहेको हुन्छन्। त्यसको विपरित दोश्रो भाषामा बोल्दा वा लेख्दा मातृभाषामा सोच्ने र दोश्रो भाषामा अनुवाद गर्दै लेख्ने वा बोल्ने भइरहेको हुन्छ। आफ्नो मातृभाषा पूर्ण रूपले बिर्सिसकेका जनजातीले फरर नेपाली बोल्ने विषय त स्वभाविक नै भयो। तर, आफ्नै मातृभाषा भएका जातिहरु  नेपाली बोल्दा धाराप्रवाह बोल्न सकिरहेका हुन्नन्। उनीहरु थोरै अक्मक्किएर वा  थोरै समय लिएर या भन्न खोजेको विषयको लागि उचित शब्द सोचेर वा  कहिलेकाहीँ गलत उच्चारण गर्दै बोलिरहेका हुन्छन। संवादको बीचमा लिइने त्यो छोटो समय उनीहरुले अनुवादको लागि लिइरहेका हुन्छन।  दीलबहादुर घर्ती पनि उनीहरु मध्ये कै एक थियो। ऊ मगर खाम बोल्दा धाराप्रवाह जस्तो र नेपाली बोल्दा अक्मकाए जस्तो गरी बोल्थ्यो।

जति नै घोके पनि जति नै पढे पनि दोश्रो भाषा भनेको दोश्रो भाषा नै हो। मातृभाषाले चेतनाको जुन स्तर निर्माण गर्छ त्यो स्तरको चेतना दोश्रो भाषाले गर्न सक्दैन। दोश्रो भाषामा पढ्दा जो कोही पनि ज्ञान आर्जनमा पछि पर्न सक्छ। दोश्रो भाषामा ज्ञान आर्जन गर्नु पर्ने बाध्यताले गर्दा नै जनजातीको ज्ञानको स्तर पहाडीया खस आर्यको जति हुन सकेन र सकिरहेको छैन। ज्ञान र चेतना मै पछाडि पेरिसकेपछि आर्थिक, समाजिक र राजनीतिक हिसाबले पनि जनजातीहरु पछाडि पर्दै गए।  होइन भने मंगोलियन सभ्यताका तिनै जनजातिले चीन, जापान र कोरियाबाट संसार नै हाँक्नेगरी उन्नती गर्ने तर त्यही सभ्यताको नेपाली अंशका जनजाती पछाडि पर्ने कसरी हुन सक्छ?

एकल जातीय राज्यले भाषिक, सांस्कृतिक एवं धार्मिक ’हेजिमनी’ स्थापना गर्न नेपाली भाषालाई पहिला पाठ्यक्रमको अनिवार्य भाषा बनायो। आफ्नै भाषाको आकाशमा उडिरहेका जनजातीलाई ûएक देश एक भाषा’को नीतिले गर्दा भाषिक नाकाबन्दी लागे जस्तो भयो। एकातिर मनुस्मिती  धर्मको आधारमा गरिदिएको श्रम विभाजनले विशेष गरी ब्राह्मण–क्षेत्री र खस–आर्यलाई शिक्षामा एकाधिकार कायम गर्न  सहज बाटो खोल्ने काम गर्यो भने अर्कातिर वर्ण व्यवस्थामा आधारित शाषण व्यवस्थाले हिन्दू धर्मवलम्बी भित्र नै कसैलाई केन्द्रमा तान्ने कसैलाई सिमान्तमा धकेल्ने काम गरिराख्दा गैर–हिन्दू जनजाती सिमान्तमा पुग्नु त झन कुनै अचम्मको विषय नै भएन। हिन्दूवादी राज्यसत्ताले हिर्काएको कोर्राको घाउ सुक्न नपाउँदै राजा महेन्द्रले विविधताले भरिएको हाम्रो देशमा एक भाषाको नीतिमार्फत अर्को कोर्रा हिर्काए। त्यसपछी जनजाती उठ्नै नसक्ने गरीपछि पर्दै गए। आफ्नो मातृभाषाको औँला समातेर हिँड्नु पर्ने जनजाती नेपाली भाषाको वैशाखी टेकेर हिँड्नु पर्ने भयो।  राज्यले जनजातीलाई आकाश त दियो तर उड्ने पखेटा काटिदियो। टेक्नको लागि जमिन त दियो तर हिँड्ने खुट्टा भाँचिदियो। यो देशलाई बरु अंग्रेजी भाषा महत्वपूर्ण लाग्यो र अंग्रेजी भाषा अनिवार्य हुँदै गयो तर आफ्नै देशका भाषाहरुलाई राज्यले सौतेलो व्यवहार गरेपछि जनजाती पाखा लाग्दै गए। यो एउटा निकै गम्भीर समस्या हो र यसको समाधान भनेको दोभाषीय वा बहुभाषीय शिक्षा नै हो। थारुको बाक्लो बसोबास भएको ठाउँमा नेपालीका साथसाथै थारु भाषामा पनि अध्ययन अध्यापनको व्यवस्था हुनुपर्छ। राई–लिम्बु, शेर्पाको जातीय क्लस्टरको बाक्लो छ त्यहाँ आवश्यकता अनुसार शिक्षालाई बहुभाषीय बनाउनु पर्छ। मातृभाषामा पढ्न मन लाग्नेले मातृभाषामा पढ्न पाउनु पर्छ। संविधानले नै नेपाललाई बहुसांस्कृतिक, बहुभाषिक, बहुजातीय,र बहुधार्मिक विविधताले भरिएको राष्ट्रको रूपमा स्वीकार गरेको अवस्थामा शिक्षालाई बहुभाषीय र स्थानविशेषको आवश्यकता अनुसार दोभाषीय बनाउन निरतन्तर दबाब दिन जरूरी छ। आखिर शिक्षामा परिवर्तन नल्याएर विकासमा फड्को मार्न कहाँ सम्भव छ र? ढुक्क बनौँ विकास रेल चढेर आउने कुनै वस्तु होइन। यो त आफ्नै जनताको उन्नतिको बारीमा फल्ने फल हो।      …र मलाई माफ गरेस् दिलबहादुर घर्ती, सानोमा थाहै थिएन। नजिस्काउने विषयमा जिस्काउने रहेछु। आज बल्ल थाहा भयो, ‘तँलाई राम्रोसँग नेपाली बोल्न किन आएन !’

Originally published at https://annapurnapost.com

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्