Thursday, May 16
Shadow

महापुरुषले दुई हप्तामा ७ करोडभन्दा बढी कमाई


  • -इ
  • इ+

काठमाडौं  । कात्तिक ११ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म महापुरुष तेस्रो हप्तामा प्रदर्शन भइरहेको छ। दुई हप्तामा ७ करोडभन्दा बढी कमाइ गरेको फिल्ममा तेस्रो हप्तामा पनि दर्शकको चाप उच्च रहेको छ।

लगातार दुई हप्ता हलमा सर्वाधिक शोका साथ प्रदर्शन भएको महापुरुषको शो तेस्रो हप्तामा भने भारी मात्रामा शो कटौती भएको छ। शुक्रबारदेखि प्रदर्शनमा आएका हलिउड फिल्म ब्ल्याक प्यान्थरः वकान्डा फरेवर र बलिउड फिल्म उचाइका कारण महापुरुषको शोमा कटौती भएको हो। शो कम भए पनि महापुरुषका अधिकांश शो तेस्रो हप्तामा पनि हाउसफुल रहेका छन्।

त्यस्तै फिल्मको विदेश राइटको माग पनि बढ्दै गएको छ। अमेरिका, अष्ट्रेलिया लगायतका देशमा सफलताका साथ प्रदर्शन भएको फिल्मको राइट नर्वे, पोर्चुगल, डेनमार्क, स्पेन, जर्मनी, साइप्रस, बेल्जियम, पोल्याण्ड लगायतका युरोपेली देशमा पनि विक्री भइसकेको छ। ती देशमा फिल्मको प्रदर्शन मिति भने छिटै सार्वजनिक गर्ने निर्माण टोलीले जनाएको छ।

जात्रा, शत्रु गते र जात्रै जात्रा जस्ता व्यावसायिक रूपमा सफल फिल्म दिएका निर्देशक प्रदीप भट्टराईको यो लगातार चौथो सफलता हो। फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्रसिंह बानियाँ तथा नवकलाकार अरुण क्षेत्री र अञ्जना बराइलीको मुख्य भूमिका रहेको छ।

फिल्मले समीक्षकबाट मिश्रित प्रतिक्रिया पाए पनि दर्शकको वर्ड अफ माउथ भने बलियो देखिएको छ। सामाजिक कथावस्तुमा बनेको फिल्ममा अधिकांश दर्शक परिवारसहित पुगेका छन्। फिल्मले पहिलो तीन दिनमा साढे ३ करोडको कमाइ गरेको थियो। फिल्मको लाइफ टाइम कलेक्सन ८ करोडभन्दा धेरै हुने अनुमान गरिएको छ।

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्